आजको युग प्रजातन्त्र र समाजवादको युग हो । तर यसका जति सर्वमान्य सिद्धान्त छन् त्यति नै राजनीति शास्त्रमा थुप्रै विरोधाभाष पनि छन् । राजनीति शास्त्रमा प्रजातन्त्र र समाजवाद छुट्टाछुट्टै विधा हुन् । छुट्टाछुट्टै चिन्तन हुन् । कुनै समूह, समुदाय र सम्प्रदायले अपनाएको यो चिन्तन र विचारधारा अर्काे समूह, समुदाय र सम्प्रदायका लागि आस्था विरुद्धको चिन्तन ठानिएका घातक विवादहरु राजनीतिक वृत्तमा देखिदै आएका समस्याहरु हुन् । नेपालको सन्दर्भमा यस विवादलाई बी.पी. कोइरालाले साम्यवादमा प्रजातन्त्र थपिदिए “प्रजातान्त्रिक समाजवाद” हुन्छ र प्रजातन्त्र झिकिदिए “साम्यवाद” हुन्छ भनेर टुङ्ग्याइदिएका छन् । उग्र वामपन्थी बाहेक धेरैजसो साम्यवादीहरु प्रजातान्त्रिक समाजवादको बाटोतिर उन्मुख भएको पाइन्छ ।
प्रजातन्त्र खासगरी प्रत्यक्ष र अप्रत्यक्ष दुई प्रकारका भएको राजनीति शास्त्रले मान्दछ, अर्थात् प्रजातान्त्रिक शासन–सत्ता त्यसको प्रयोगमा निर्भर गर्दछ, जस्तो कि एथेन्समा स्वतन्त्र व्यक्ति र रोममा धनी व्यक्तिद्वारा गरिएको सत्ता प्रयोग । प्रजातन्त्रलाई सानो समूह र कम विकसित समाजदेखि अति ठूलो र विकसित समाजसम्म प्रयोग गर्न सकिँदो रहेछ । एथेन्स र रोमको प्रत्यक्ष प्रजातन्त्रको नमुना आधुनिक राष्ट्र र राज्यहरुमा संभव नहुन सक्छ, तर बेलायतको १६८८ को क्रान्ति, १७७६ को अमेरिकी क्रान्ति र १७८९ फ्रान्सेली क्रान्तिपछि विकसित भएको प्रजातन्त्र, जसलाई “प्रतिनिधि प्रजातन्त्र” भनिन्छ, त्यसको प्रयोग राजनीतिक चिन्तनको गहिरो विषय बन्न पुगेको छ । सर्ववयस्क मताधिकार, स्वतन्त्र, निष्पक्ष तथा आवधिक निर्वाचन, दल तथा हितबद्ध समूहको भूमिका, न्यायपालिकाको स्वतन्त्रता, सार्वभौमसत्ता सम्पन्न जनता, पूर्ण सामाजिक न्याय र अवसर तथा उत्पादनको समानुपातिक वितरणको हस्तान्तरण प्रजातन्त्रका केही विशेषता हुन् ।
प्रजातन्त्रिक शासन व्यवस्थामा त्यसको अधिकारीगण र अभिकर्तागण संवैधानिक ढंगबाट निर्वाचन हुनु पर्ने कुरा पनि महङ्खवपूर्ण हुन्छ । प्रजातन्त्रमा राष्ट्राध्यक्ष जनताद्वारा निर्वाचित हुनसक्छ । ब्रिटेनको १६८८ को क्रान्तिपछि संसद्ले विलियम तथा मेरीलाई राज्यसत्ता सुम्पिएको थियो । १७१४ मा रानी ऐनीको मृत्युपछि संसद्को निर्णयअनुसार हेनोबर वंशका जर्ज प्रथमलाई राज्यसत्ता दिएको थियो । १९३६ मा संसद्को निर्णयअनुसार एडवर्ड अष्टम्ले राजापद त्यागिदिएका थिए । १८५२ मा जनमत संग्रहद्वारा लुई नेपोलियन फ्रान्सका सम्राट बनेका थिए । यस्तै १८७३ मा स्पेनको एसेम्बलीले आफ्नो निर्णयबाट रिक्त राजपदमा राज्याध्यक्ष चुनेको थियो । यस्तै अभ्यास आज आएर नेपालमा संविधानसभाको निर्वाचनले राजतन्त्रको टुङ्गो लागेको कुराबाट स्पष्ट भएको छ । प्रजातन्त्रलाई अर्काे शब्दमा संविधानवाद पनि भनिन्छ । कानुनको शासन भनिन्छ । प्रजातन्त्र व्यक्तिको इच्छामा आधारित व्यवस्था भएको हुँदा कहिलेकाहीं यो व्यवस्था व्यक्तिको नियतबाट परिचालित हुनसक्छ । जुन आज हामीकहाँ भएको छ । प्रजातान्त्रिक व्यवस्था व्यक्तिको नियत र भावनाबाट उत्प्रेरित हुनसक्ने भएकोले जनशासनका नाममा गम्भीर मार पर्नसक्छ, जसले गर्दा राजनीतिमा ‘उदार निरंकुशवाद’ प्रजातन्त्र मात्र भन्दा राम्रो हुन्छ पनि भनिन्छ ।
समाजवाद एक प्रजातान्त्रिक आन्दोलन हो, जसले त्यस्तो आर्थिक संगठन दिन्छ, जसले सर्वाधिक न्याय तथा समानता सुनिश्चित गर्दछ । यसैका आधारमा बी.पी. ले क्रान्तिको उद्देश्य राजनीतिक स्वतन्त्रता र आर्थिक समानता प्राप्त गर्नु हो भन्ने कुरामा जहिले पनि जोड दिएको पाइन्छ तर उनको विचारको प्रतिनिधित्व गर्ने राजनीतिज्ञ भने यो कुराबाट टाढा रहेका छन् । समाजवाद शब्द आज जति लोकप्रिय छ त्यति नै यसको दुरुपयोग पनि भएको छ । समाजवादको सुनिश्चित र सर्वस्वीकार्य परिभाषा प्रस्तुत गर्न कठिन छ, किनकि समाजवाद एक सिद्धान्त र विश्वमा चलेको राजनीतिक आन्दोलन हो । समाजवादमा राजनीतिक र आर्थिक दुई बलिया पक्ष भएको हुँदा यो प्रजातन्त्र जस्तै केवल राज्यसत्तामाथि अधिकार राख्ने चिन्तन नभएर यसले राष्ट्रिय अर्थव्यवस्थालाई पनि नयाँ रुप दिन चाहन्छ, अर्थात् समाजवाद केवल राजनीतिक चिन्तनमात्र नभएर चिन्तनको व्यावहारिक पक्ष पनि हो । अर्कोतिर समाजवादलाई धेरै टाउकाहरुमा फिट गराउँदा आफ्नो आकृति गुमाएको टोपीका रुपमा पनि आलोचना गरिएको छ, जे होस् यसको काम चलाउ परिभाषा धनी र गरिब बीचको दूरी कम गराउनु हो ।
समाजवादलाई ुटभ्ु बाट शुरु हुने कार्यक्रम पनि भनिन्छ । (क) व्यक्तिभन्दा समाजको उत्थान ( Exalation of community above the individual) (ख) मानवीय अवस्थाहरुको समानीकरण (Equalisation of human condition) (ग) पुँजीवादको उन्मूलन (Elimination of capitalism) (घ) समानतवादको समाप्ती (Expropriation of landlordism) (ङ) निजी पुँजीको अन्त्य (Extiction of private capital) (च) प्रतिस्पर्धाको निराकरण (Eradication of competition) । यस्तै समाजवादलाई प्रजातान्त्रिक समाजवाद, राज्य समाजवाद, विकासवादी समाजवाद, फेबियनवाद, वैज्ञानिक समाजवाद जस्ता अनेक नामबाट पुष्टि गरिने प्रयत्न गरिन्छ । समाजवादका जेजस्ता रुप भए पनि सामाजिक रुपान्तरणको सैद्धान्तिक आधारका रुपमा समाजवादको अनुवाद हुनुपथ्र्यो तर अहिलेसम्म त्यसो हुन सकेको पाइँदैन, तर बी.पी. ले सरल रुपमा समाजवादलाई सामाजिक न्याय भन्दै उत्पादनको समान उपयोगिताको वितरण हो पनि भने । उनको उक्त विचार आर्थिक पक्षका मामलामा माक्र्ससँग मिल्दाजुल्दो छ ।
समाजवाद र साम्यवादलाई एउटै बास्केटभित्र राख्ने केही प्रयत्नहरु राजनीतिक आन्दोलनका वृत्तमा देखिएका सवालहरु पनि छन् तर बी.पी. ले यसलाई छुट्टाछुट्टै कोणबाट हेरे । उनले साम्यवाद मात्र समाजवाद हुन सक्दैन र प्रजातन्त्र मात्र पनि समाजवाद हुन सक्दैन भन्दै दुवैलाई एउटै बास्केटमा राखेर प्रजातान्त्रिक समाजवादको व्याख्या गरे । तर यसको व्यापक छलफल भने भएन । साम्यवादीहरुले मात्र आफूलाई समाजवादी ठान्ने युगको अन्त्य १९८९ को वर्षमा सोभियत रुसको साम्यवाद धराशाही भएबाट भयो । यसले समाजवाद साम्यवादी दर्शनभन्दा पृथक चिन्तन हो भन्ने कुराको पुष्टि ग¥यो भन्नेमात्र निष्कर्ष निकालियो । उन्नाईसौं शताब्दीको पाँचौ दशकको मध्यावधिमा माक्र्सवादको जन्म भएको हो । माक्र्सवादी दर्शनको निर्माणमा कल्पनावादी समाजवादी सिमोन, शार्ल फुर्ये र रोबर्ट ओभनको विचारको ठूलो भूमिका छ । यद्यपि कल्पनावादीहरुले भविष्यको समाजसम्म पुग्ने वास्तविक मार्ग भेटाउन सकेनन् र क्रान्तिकारी परिवर्तनको मार्ग अस्वीकार गरे । तापनि उनीहरुले पुँजीवादी व्यवस्थाको जुन आलोचना गरे, भविष्यको समाजबारे जुन अनुमान गरे यसले माक्र्सवादी समर्थकहरुलाई उत्प्रेरित ग¥यो । तर माक्र्सवाद पूर्ण समाजवादी आन्दोलन होइन भन्ने कुरा माक्र्सवादको सुधारसँगै पुष्टि भयो । किनभने माक्र्स आफ्नो मृत्यु उपरान्त १८४९ देखि १८८३ सम्म बेलायतमा बसेता पनि त्यहाँ माक्र्सवादको प्रभाव परेन बरु माक्र्सवादको सुधारवादी आन्दोलन त्यहाँबाट शुरु भयो, जसलाई अहिले प्रजातान्त्रिक समाजवाद अर्थात् विकासवादी समाजवाद भन्न रुचाइन्छ, जुन सुधारवादी माक्र्सवादी विचारको निकट बी.पी. रहे र समानता, स्वतन्त्रता र सहचार्यको सिद्धान्त अँगाले । यद्यपि समाजवाद शब्दको प्रयोग १८२७ मा रोबर्ट ओभनका विचारहरुको प्रचार गर्नका लागि स्थापित पत्रिका “ओ नाइट कोअपरेटिभ” मा व्यक्तिवादी र उदारवादी विचारहरुको विरुद्ध भावनाहरु प्रदर्शित गर्नका लागि गरिएको थियो । त्यसपछि १८३५ मा रोबर्ट ओभनको अध्यक्षतामा स्थापित “सबै राष्ट्रहरुको सबै समुदाय” ले समाजवाद र उदारवादी शब्दको प्रयोग गरे । तत्पश्चात् फ्रान्सेली लेखक रेवाँदले आफ्नो रचना ‘रिफर्मेशन मोर्डनर’ मा समाजवाद शब्दको धेरै प्रयोग गरे ।
समानता, स्वतन्त्रता र सहचार्यको सिद्धान्तमा आधारित प्रजातान्त्रिक समाजवादलाई राजनीतिक दलका रुपमा दक्षिण एसियामै पहिलो पटक नेपालमा नेपाली काँग्रेसले अपनायो र आफ्नो दलको वीरगञ्ज महाधिवेशन २०१२ सालमा आफ्नो दललाई प्रजतान्त्रिक समाजवादमा प्रतिबद्ध राजनीतिक दल रहेको घोषणा ग¥यो, जहाँ घोषणा–पत्र पेश गर्दै प्रजातान्त्रिक समाजवादको जटिल परिभाषालाई बी.पी. ले “उत्पादनको वृद्धि र प्राथमिकताको उपभोग” भन्दै सरल भाषामा फुकाइ दिए । बी.पी. को यो सरल परिभाषाले दूध र ऊनको उदाहरणबाट व्यापकता पाएको छ । उनले दूध र ऊनको उत्पादन र वितरणको उदाहरणमात्र पेश नगरेर अझ फराकिलो रुपमा भने– ‘प्रत्येक नेपालीको एउटा सानो घर होस्, बच्चाबच्ची खेल्न र हरियो सागसब्जीका लागि घर वरिपरि केही जग्गा होस्, प्रत्येक बालबालिकाहरु स्कुल जान पाउन्, बिरामी पर्दा औषधीमूलो गर्ने केही रुपैयाँ पैसा होस् ।’ बी.पी. लाई उनको विचारले महान् बनायो तर नेपाली काँग्रेस लामो आन्दोलन पश्चात् जब सत्तामा आयो तब बी.पी. को विचारलाई निरन्तरता भने दिन सकेन बरु पुरानै पृथकतावादी सोचले नै हावी जमायो । अहिले पनि नेपाली काँग्रेस उनकै विचारको धुकधुकीमा बाँचेको छ ।
तर २०४६ सालको आन्दोलनपछि पुनःस्थापित प्रजातन्त्रमा नेपाली काँग्रेस जब सत्तामा गयो तब प्रजातान्त्रिक समाजवादप्रति इमान्दार देखिएन । त्यतिबेला नेपाली जनताको नेपाली काँग्रेसप्रतिको जनमत प्रजातान्त्रिक समाजवादप्रतिको विश्वास थियो । तर नेपाली काँग्रेस प्रजातान्त्रिक समाजवादप्रति उत्तरदायी भएको गतिलो उदाहरण जनतामा पेश गर्न सकेन र पेश पनि भएन । यसको परिणाम दोस्रो जनआन्दोलन हुन गयो र उग्र वामवादी माओवादीले फाइदा उठाउदै आफ्नो संगठनको गतिलो भूमिका निर्वाह गर्ने मौका पायो । खासगरी माओवादीले आफ्नो संगठनको आधार दलित, महिला र जनजातिलाई बनायो, जुन वर्ग नेपाली समाजको सबैभन्दा उत्पीडित वर्गभित्र पर्दछ । बी.पी. उत्पीडित वर्गप्रति अत्यन्त सचेत थिए । त्यसैले उनले आफ्नो संगठनमा दलित–जनजातिबाट धनमानसिं परियार र परशुनारायण चौधरीलाई महामन्त्री बनाए । नेपालको राजनीतिक परिवर्तनपछि दक्षिण एसियामै पहिलो पटक महिला मन्त्री भएको उदाहरण पनि नेपालमा छ । यतिबेला नेपाली काँग्रेस विश्वको उदारवादी अर्थव्यवस्था र समाजवादी अर्थव्यवस्थाको सन्तुलन बीच अलमलिएको छ । उदारवादी अर्थव्यवस्था र समाजवादी अर्थव्यवस्थाको द्वन्द्वमा नेपाली काँग्रेसका अर्थविद्हरु अल्मलिएका छन् र उनीहरुले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई खुलेर अङ्गीकार गर्न सकिरहेका छैनन् । यसकारण जनमत बिस्तारै नेपाली काँग्रेसको विश्वासबाट विस्थापित हुँदैछ । बी.पी. राष्ट्रिय पुँजीपतिहरुको स्रोतलाई परिचालन गर्नु पर्छ भन्थे तर निजीकरणलाई नै प्रमुखता दिँदैनथे । यदि नेपाली काँग्रेसप्रति नेपाली जनताको विश्वास बचाइरहने हो भने नेपाली काँग्रेसभित्र ‘बी.पी. वाद’ बाँचिरहनु पर्दछ ।
No comments:
Post a Comment